
काठमाडौं । जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
प्रहरीसँगको झडपमा परी नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य रामचन्द्र झा घाइते भएका छन् । बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो ।
सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिए । नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता प्रहरीले दाहाल नेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।





