
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रुपमा संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएका नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हुँ भन्ने दम्भ उजागर भएको उनको भनाइ छ ।
कोरम नपुगेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उनको जिकिर छ ।
नेता सिंहले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो । संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।
सरकार र सरकारमा रहनेहरुको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रुपमा रहेको संविधान संकटमा परेको उनको भनाइ छ ।





