उपराष्ट्रपति र सभामुखद्धारा सपथ ग्रहण समारोह बहिस्कार



काठमाडौं । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपथ ग्रहण गराएका थिए । गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरूमा ४५ जना व्यक्तिको नियुक्तिका लागि सिफारिश गरेको थियो ।

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले विरोध जनाइरहेको छ । नेकपा मात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको विरोध जनाइरहेको छ ।

सभामुख सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए । आफूसँग छलफल नै नगरी फिर्ता पठाएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले असन्तुष्ट व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्