यसकारण रोज्यो नेकपाले नारायणहिटीको आँगन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष आनन्द प्रसाद पोखरेलले माघ १६ गते बिहान ११ बजे बागमती प्रदेश संगठन कमिटीको कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानमा माघ २३ हुने नेकपाको जनप्रदर्शनको तयारी बैठक बोलाउनु भएको थियो ।

काठमाडौँ उपत्यकाभित्रका उपलब्ध केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, सचिव लगायत बागमती प्रदेशका विभिन्न जिल्ला कमिटीको नेतृत्वसँग गरिएको विशेष तयारी बैठकमा जनसभा परिचालन कमिटीका संयोजक कृष्ण गोपाल श्रेष्ठ, उपत्यका समन्वय कमिटीका अध्यक्ष डा.राजन भट्टराई लगायत जनवर्गीय संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विभागीय सचिवको हैसियतले म पनि बैठकमा उपस्थित भएको थिए ।

तयारी बैठकमा दिएको रिपोर्टिङ अनुसार काठमाडौँ जिल्ला कमिटीले ३० हजार, ललितपुर जिल्ला कमिटीले १० हजार, भक्तपुर जिल्ला कमिटीले ७ हजार, जिफन्टले १० हजार, युवासंघ १० हजार, अखिल १० हजार, पेशागत महासंघ ३ हजार, बागमती प्रदेशका सम्पर्क मञ्चहरुबाट १५ हजार ५००, आदिवासी जनजाति घटक संगठन ४ हजार, सिन्धुली, काभ्रे, धादिङ, मकवानपुर ५–५ हजार, दोलखा, रामेछाप, चिवतन ३–३ हजार, नुवाकोट, सिन्धुपाल्चोक ४–४ हजार, रसुवा १ हजार, जनसांस्कृतिक महासंघ ७०० गरी अनुमानित १ लाख ५२ हजार व्यक्तिहरु टाउको गनेर सहभागी हुने रिपोर्टपछि जानकारी प्राप्त भयो ।

बैठकको सुरुमा स्थान भृकुटीमण्डप तय गरिएको थियो । रिपोर्टिङकै क्रममा पेशागत महासंघका प्रतिनिधिले अघिल्लो जनसभा भृकुटीमण्डपमा हुँदा प्रदर्शनी मार्ग क्षेत्रका चारवटा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको परीक्षा दिइरहेका करिब २ हजार विद्यार्थीलाई असर पुर्याएको बताएपछि अन्य सहभागी मार्फत ठाउँ साघुँरो हुने प्रश्न उठ्यो ।

त्यतिमात्र होइन माघ २२ गते १२ बजे १० हजार मोटरसाइकल र्याली समेत प्रदर्शनी मार्गबाटै सुरु गर्ने छलफल चलेपछि पेशागत महासंघका प्रतिनिधिले उक्त स्थानमा कार्यक्रम नगर्न पार्टी नेतृत्वलाई सुझाव दिए । पेशागत महासंघको प्रश्नपछि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका डा.राजन भट्टराईले बालकुमारीको छेउतिरको एक लेन सडक प्रयोग गरी ग्वार्कोसम्म १५ मिनेट रोकेर सातदोबाटो–लगनखेल–त्रिपुरेश्वर–सिंहदरबार–बानेश्वर हुदैँ तिनकुनेमा र्याली समापन गर्ने प्रस्ताव गर्नुभयो । सहभागी सबैले डा.भट्टराईको प्रस्तावमा सहमति जनाए ।

मोटरसाइकल र्याली सुरु हुने स्थान परिवर्तन भएपछि पेशागत महासंघका प्रतिनिधिले टुडिखेलमा बृहत् जनसभा आयोजना गर्न अनुरोध गरे । मन्त्री समेत रहनुभएका कृष्ण गोपाल श्रेष्ठले नेपाली सेनाले प्रयोग गरेको टुडिखेलमा कार्यक्रम गर्दा गलत नजिर बस्ने बताएपछि नेकपा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले नारायणहिटी गेट अगाडि कार्यक्रम गर्दा ‘टि’ आकारमा सडकको तिनतिरको भाग प्रयोग गर्न सकिने बताएपछि जनपरिचालन संयोजक कृष्ण गोपाल श्रेष्ठसहित सहभागी सबैले सहमति जनाए ।

अध्यक्ष पोखरेलले आज बेलुका प्रधानमन्त्रीसँग छलफल छ, उक्त छलफलमा स्थानको बारेमा कुराकानी गरेपछि मात्र नारायणहिटी गेट अगाडि टुङ्गो लाग्ने बताउनुभयो । बेलुका अबेरसम्म समेत अध्यक्ष पोखरेलबाट जानकारी प्राप्त नभएपछि प्रचार तथा प्रकाशन विभागको तर्फबाट भृकुटीमण्डपमा जम्मा हुन अनुरोध गर्दै फेसबुक अपिल समेत गरिएको थियो ।

भोलिपल्ट अध्यक्ष पोखरेलबाट नारायणहिटी गेट अगाडि कार्यक्रम गर्नेे जानकारी पाएपछि विभागका हामीले दोस्रो अपिल प्रकाशन गरी नारायणहिटी गेट अगाडि जम्मा हुने व्यहोराको अपिल बनायौँ । आफैँ प्रत्यक्ष संलग्न बैठकमा भएको छलफल र गरिएको तयारी हुदाँ हुदैँ आज बिहान आफूलाई प्रतिष्ठित भन्ने कान्तिपुर राष्ट्रिय दैनिकमा बिनु सुवेदीले ओलीले किन रोजे नारायणहिटीको आँगन भन्दै पूर्वपञ्चहरुको मन जित्न पूर्व राजाको दरबार अघिलतिर जनसभा गर्न लागेको कुतर्क प्रस्तुत गर्नुभयो ।

बिनुद्धारा लेखिएको फिचरमा पूर्वराजा, धर्मकर्म, मठमन्दिर र पुरातन दर्शन संस्कृतिप्रति ओलीको झुकावको रुपमा उक्त जनसभालाई विश्लेषण गरिएको छ । उनको लेखमा नेता सुरेन्द्र पाण्डे, नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डे, राप्रपाका अध्यक्ष प्रकाश चन्द्र लोहनीको भनाई जस्ताको तस्तै राखी प्रधानमन्त्री ओलीलाई पश्चगामी शासकको रुपमा व्याख्या गर्न खोजिएको देखिन्छ । आलेखमा नेकपा प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेकपा बागमती अध्यक्ष आनन्द पोखरेलको भनाइलाई थोरै स्थान दिएर कांग्रेस केन्द्रीय सदस्य गगन थापा लगायत प्रधानमन्त्री ओलीको कदमप्रति निर्लजतापूर्वक गाली गर्ने व्यक्तिहरुलाई समेटिएको छ ।

आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय नगरेको स्थानबारे कल्पनामा आधारित भ्रम छरेर हजारौँ नागरिकहरुलाई दिग्भ्रमित पार्नु निन्दनीय देखिन्छ ।

लेखक : (नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस्