आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको स्वाभिमान उच्च बनाउन आफू लागिपरेको र कसैको सामु घुँडा नटेक्ने बताएका छन् । नेकपा ओली समूहद्धारा चितवनको भरतपुरमा शनिबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने र कुनै पनि हालतमा जनतालाई धोका नदिने प्रतिबद्धता जनाए ।

उनले देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधीनताको सही अर्थमा रक्षा र प्रयोग, देशको भूगोलको रक्षा, नेकपा नेतृत्वको यो सरकारले गर्ने बताए ।

निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन, पञ्चायती तानाशाही हुँदा घुँडा टेकिएन, नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, कुनै पनि अवस्थामा घुँडा टेकिएन, ओलीले भने, अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, साथीहरु ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ उठ्छ ।

प्रधानमन्त्री ओलीले आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भएरै छाड्ने दाबी गरे । उनले यो सरकारले चुनाव गराउँदैन भनेर फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरे । उनले भने, ढुक्क हुनुस् निर्वाचन हुन्छ । निर्वाचनको वातावरण बन्दैछ । ओलीले केही वर्षभित्रै जनताले अनुभूति गर्नेगरी देश विकास हुने बताए ।

प्रतिक्रिया दिनुहोस्