
विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जरुरी परे संसद बैठक बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक बस्न सक्ने बताएका हुन् ।
संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन, उनले भने, जरुरी परे संसद बैठक बसेर ओलीमाथि कारबाही गर्न सकिन्छ ।
सर्वोच्चले पक्कैपनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं, उनले अघि भने, जरुरी परे विकल्प जनतासँग छ । प्रचण्डले नेपालमा धेरै संविधान बनेपनि २०७२ सालमा बनेको संविधान विशेष भएको बताए ।
संविधान त २००४ सादेखि नै बन्दै आएको हो । सबैमा राजा महाराजाको अधिनमा रहने उल्लेख थियो, उनले, नयाँ संविधान सार्वभौम जनताको प्रतिनिधिले बनाएका हुन् ।
प्रतिक्रियावादी एजेन्टको बलमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गरेको उनले बताए । ओलीले मात्रै संसद् भंग गरेनन्, प्रचण्डले भने, ओली खलनायक भएर निस्किनुभयो । उहाँ प्रतिक्रान्तिहरुको गोटी बन्नुभयो ।





