
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई अटेर गरेको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि आफूलाई ठान्ने गरेको पौडेलको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।
त्यसतर्फ संकेत गर्दै शुक्रबार शान्तिबाटिका काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले संविधानमाथि बसेका राजालाई फालेर गणतन्त्र ल्याइएको भन्दै राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि नभएको भनि बताए ।
स्थिरताको प्रधान शत्रु केपी ओली हो, उनले भने, हिजो राजाहरुले संविधान टेरेनन् । आज संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्री बस्न खोजिरहेका छन् । यो स्वीकार्य हुन्न ।
असंवैधानिक काम गर्ने प्रधानमन्त्रीले संवैधानिक चुनाव गर्नु हुन्न, उनले भने वैशाखमा चुनाव हुन्न । चुनाव हुन्छ भनेर पत्याउने कांग्रेस त्यति मुर्ख छैन । कांग्रेसलाई जिताउन ओलीले चुनाव नगर्ने उनले बताए ।





