प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जानेबारे पार्टीभित्र विवाद छैन : नेपाली कांग्रेस



काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कदमविरुद्ध आन्दोलनमा जाने सर्वसम्मत निर्णय गरिएको भन्दै यसबारे पार्टीभित्र बिवाद नरहेको बताएको छ ।

सभापति शेरबहादुर देउवा आन्दोलनमा जाने पक्षमा नरहेको दाबीसहित सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको भन्दै कांग्रेसले सभापतिकै निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनका कार्यक्रम प्रस्ताव गरेर केन्द्रीय समितिबाट पारित भएको उल्लेख गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर आन्दोलनमा जाने सर्वसम्मत निर्णय भएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस आन्दोलनमा रहेको उनको भनाइ छ ।

संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ । कतिपय संचार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ, कांग्रेसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्