
काठमाडौं । नेपाल तरुण दलले आफ्ना बझाङस्थित एक जना कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले खुँडा प्रहार गरी हत्या गरेको बताएको छ ।
बझाङको छबिसपाथिभरा गाउँपालिका अन्तर्गत बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचन सकेर मंगलबार घर फर्कदै गरेका तरुण दलका अमृत सिंहलाई नेकपा कार्यकर्ताले खुँडा प्रहार गरेको तरुण दलले जनाएको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर नेकपाका ज्ञानबहादुर कडायत, प्रकाश ऐडीलगायतले अमृत सिंहमाथि खुँडा प्रहार गरी हत्या गरेको उल्लेख गरेका छन् ।
तरुण दलले हत्यामा सम्लग्नहरुलाई छिटोभन्दा छिटो कानुनको कठघरामा ल्याउन र हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेको छ ।
यसैबीच नेविसंघले सिंहको हत्या विरोधमा आज काठमाडौंमा त्रिचन्द्र क्याम्पस अगाडी विरोध प्रदर्शन गर्ने भएको छ ।






