
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निर्लज्ज रुपमा प्रस्तुत भइरहेको बताएका छन् ।
पौडेलले सोमबार नागरिक आन्दोलनमाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेकोमा विरोध गर्दै प्रतिगामी शासक र तानाशाह यसैगरी बर्बराउने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ, मंगलबार पौडेलले फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री ओली आफ्ना विरोधीलाई अपमानित गर्न तम्सिएको पौडेलको भनाइ छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ, उनले भनेका छन् ।
दमनले नागरिकलाई थप ऊर्जा दिने पनि पौडेलको भनाइ छ । सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबृद्ध नागरिमाथि प्रहार भयो, उनले भने ।
पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि आफू पनि आन्दोलनको मोर्चामा रहने बताएका छन् ।





