प्रचण्डका राजनीतिक गुरु तथा वामपन्थी नेता खम्बासिंहको निधन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।

मधुमेह, उक्त चक्तचाप, मुटु, मृर्गौैला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पिडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिदैँ आएको उनका पारिवारिक सदस्य नारयणसिंह कुँवरले जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जानकारी दिए । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिदैँ छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको जनाएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि आजै देवघाटमा अन्त्येष्टि गरिदैँ छ ।

विं.संं.१९८४ बैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं.७ मा बुबा ललितजंग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । विसं. २०१५ मा चितवन झर्नु भएका कुँवरले सम्पूर्ण जीवन र आफनो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए ।

उनलाई विसं. २०६८ मा चितवनमा नागरिक समाज र तत्काली माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं.२०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्धारा सम्मानित गरेका थियो । जीविकापार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सगंतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका थिए । विसं. २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी र्मिल लामालगायतका नेतासँगै न्यूक्लियस संगठन गरेर संगठन विस्तारमा लागेको उनी जीवित हुदैँ बताएका थिए ।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य रहेका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए। विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो। त्यसका प्रशिक्षक कुँवर थिए। प्रशिक्षार्थीमध्ये एक थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’। त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए। हाल उनी पार्टीको केन्द्रीय सल्लाहकार रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनका एक छोरा र चार छोरी छन्। उनी परिवारका सदस्यसँग भरतपुर महानगरपालिका–१० मा बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्