नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकोमा प्रचण्ड-नेपाल समूहको निन्दा



काठमाडौं । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले विरोध गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सोमबार नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहराका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये घाइते भएका थिए ।

प्रदर्शनमा नागरिक समाजका अगुवा कुष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, लेखक नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।

नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार विज्ञप्ति प्रकाशित गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको निन्दा गरेका छन् ।

उनले लोकतन्त्रको स्थापना र संविधान निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै बल प्रयोगले सरकारको निरङ्कुश चरित्र उदाङ्गो भएको आरोप लगाएका छन् ।

नागरिक आन्दोलनले सञ्चालन गरेको सङ्घर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस्