
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम हिजोआज पार्टी एकताका पक्षमा उभिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ । निर्वाचन आयोगले ओली र प्रचण्ड–नेपाल दुबै पक्षलाई आधिकारिता दिएको छ्रन ।
गौतम भने ओली वा प्रचण्ड–नेपाल कुनै पनि समूहमा आफू नलागेको र पार्टी एकताका पक्षमा उभिएको बताउने गरेका छन् ।
आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने उनको भनाइ छ । म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन । जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु, गौतमले भने ।
गौतमले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने बताए ।
आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको उनको भनाइ थियो । मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्, उनले भने ।





