काठमाडौँमा माघ २३ गते ओली पक्षले लाखौं मानिस सडकमा उतार्ने तयारी



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले माघ २३ गते जनसभा गर्ने भएको छ । नेकपा बाग्मती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँको रत्नपार्कमा जनसभा गर्न लागिएको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनैतिक परिस्थितिको वास्तविकता जनतालाई जानकारी गराउने उद्येश्यले जनसभा आयोजना गर्न लागेको बताए ।

जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटि गठन गरिएको पनि बताए ।

उनले २३ गतेको जनसभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन मार्फत वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने पनि बताए । नेकपाले माघ २१ गते १० हजार मोटरसाइकल र्याली पनि गर्ने भएको छ । जनसभामा बाग्मती प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता, कार्यकर्ताको नेतृत्वमा जन परिचालन गरी सभालाई सफल बनाइने बताइएको छ ।

सभामा जनप्रतिनिधिहरु समेत सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्