शहिदको परिभाषा र चार शहिदको सम्झना



गोविन्द प्रसाद दुलाल, बाह्य साम्राज्यवादी तागत वा आन्तरिक एकतन्त्रीय सर्वसत्तावादविरुध्द विद्रोहको शङ्खनाद गर्दै देशभक्ति र जनआवाजलाई सम्मान गर्न आफ्नो अमूल्य देहसमेत वलि दिन तयार हुने निर्भयी आत्मा हो सहिद । राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको अस्तित्वको संरक्षणार्थ जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने सङ्कल्पवीर ऊर्जा सहीद हो । नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ । वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो । वि.स. १९९७ देखि २०६२।०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे । नेपालमा सबैभन्दा पहिला नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ । मुकेश कायस्थ, विष्णुलाल महर्जन ऐतिहासिक जनआन्दोलन २ का जिउँदा शहीदहरू हुन ।

वि. स. १९९७ सालका संझना
पछिल्लो समय सहिद दिवस केवल औपचारिकतामा सी।मित हुन थालेको अनुभब हुन्छ । १९९३ साल ज्येष्ठ २० गतेका दिन काठमाडौं ओमबहालस्थित शहीद धर्मभक्तको फूपाजुको घरमा ५ जना युवकहरु जम्मा भएर एउटा राजनीतिक संस्था खडा गर्ने अठोट गरे । सबैको सल्लाहले संस्थाको नाम “नेपाल प्रजापरिषद” राख्ने निर्णय भयो । संस्थाको उद्देश्य नेपालको स्वेच्छाचारी राणाशासनलाई समाप्त गरी महाराजधिराजको बैधानिक नायकत्वमा प्रजातान्त्रिक ब्यवस्थाको स्थापना गर्ने भन्ने कुरा लिखितरुपमा राख्ने भन्ने निर्णय भयो । संस्थाको यो उद्देश्य प्राप्तिका लागि जे जस्तो त्याग , वलिदान गर्न परे पनि गर्न हामी तयार छौं भनी “श्रीमदभागवत गीता” टाउकोमा राखी सबैले प्रण गरे ।

१९९३ साल ज्येष्ठ २० गतेको यो घटना नेपालको इतिहासमा अत्यन्तै महत्वपूर्ण थियो । किनकी लगभग एक शताब्दीसम्म सबैको साझा फूलरीको रुपको नेपाललाई आफू र आफ्नो परिवारको खुवा जस्तै भोग गरीरहेको राणाहरुको मनपरितन्त्रलाई खतम गर्ने जनताको तर्फबाट संगठितरुपले दृढ प्रतिज्ञा गरिएको यो पहिलो दिनथियो । प्रतिज्ञा गर्ने त्यस बखतमा ५ जना मात्र थिए तर निस्वार्थभावले राष्ट्रको निमित्त आत्मवलिदान गर्न कटिबद्ध भएका ती ५ जनामा अतुलनीय बल तथा साहस थियो ।

१९९७ सालको पर्चाबाजिले नेपालमा पहिलो पटक राजनीतिक आन्दोलनको श्रीगणेश ग¥यो । देशका सम्पूर्ण बुद्धिजीवी, विद्यार्थी, युवक तथा मजदुर किसानहरुमा पनि यसले अभूतपूर्व जागृति ल्यायो । राणाशासकहरु नेपालको रक्षकका नाममा भक्षकको रुपमा रहेछन् भन्ने कुरा सबैले बुझ्नथाले । शासनमा रहेका राणाहरुको पनि कलेजो काँप्न थाल्यो । जन्मदै जर्नेल भएका अनुभबहीनहरुको पनि ओठमुख सुकेको देखिन्थ्यो । सल्तनतका अरु भाइभारदारहरु पनि चिन्तामग्न देखिन्थे । १९९७ मंसिर २८ गतेको दिन पनि नेपालको इतिहासका एउटा महत्वपूर्ण दिन मान्नुपर्दछ । यसै दिन शक्तिमदले अन्धो भएको राणासल्तनतले राजा त्रिभुवन त्रिभुवन र तीनै जना छोरा युवराजहरुलाई आफ्नो सैनिक अदालतमा खडा गराएर अरु राजबन्दीहरुलाई जस्तै केरकार गरेर बयान लिने काम ग¥यो । राजा त्रिभुवनको दरबार पहिलेदेखि नै बन्दीखाना जस्तो त थियो नै यो घटना पश्चात त जीवन झन कष्टमय हुँदै गयो ।

शुक्रराज शास्त्री
शुंंक्रराज शास्त्री वि.सं. १९९७ साल माघमा तत्कालीन राणा सरकारद्धारा फाँसीको सजाय पाएका प्रमुख चार शहीदमध्ये प्रथम शहीद हुनुहुन्थ्यो । उहाँको जन्म वि.सं. १९५० श्रावण ११ गते पूर्णिमाको दिन वनारसको दुधविनायकमा भएको थियो । पुख्र्यौली थलो ललितपुरको वशुंवहाल र वसोवास काठमाडौं भेडासिंह वाङ्गोमुडा भएका शास्त्रीको मूल नाम भने शुक्रराज जोशी हो । उहाँका बुवा माधवराज जोशी पण्डित भएकाले समाज सुधारका काममा सक्रिय हुनुहुन्थ्यो । उहाँले वि.सं. १९५५ मा आर्य समाजको स्थापना गरेको पाइन्छ । धेरै समस्याहरुसँग लडेर भए पनि जोशीले आफ्ना छोराछोरीलाई पढाउने काममा लगाइरहनुभयो । तत्कालीन राजगुरु प्रयागराजले चन्द्र शमशेरलाई पोल लगाएर ब्रामणहरुले जनतालाई ठगेको भन्दै हिँडेका छन् । माधवराज भन्ने निहुँमा उनलाई सिंहदरबार बोलाएर रक्ताम्मे हुने गरी कुटेर जेल हालियो । शुक्रराज र उहाँका दाजु अमर राजलाई स्कुलबाट हटाएर पानी नचल्ने बनाइयो । १८ महिनापछि जेल मुक्त भएपछि छोरा–छोरीको उचित शिक्षाका लागि माधवराजले श्रीमती रत्नमाया र छोराहरु समेतलाई लिई भारत निर्वासित हुनुभयो । प्रारम्भिक शिक्षा दरबार स्कुलमा शुरु गरेका शुक्रराजले उच्च शिक्षा भारतको उत्तर प्रदेश सिकन्दराबादस्थित गुरुकूल महाविद्यालयबाट लिनुभयो । गुरुकूल विद्यालयबाट शास्त्री र स्नातकका अतिरिक्त विद्याअलंकार विद्याभूषण प्राप्त गर्नुभएका शास्त्रीलाई यही विद्धताका कारण जोशी थरबाट शास्त्री राखिएको पाइन्छ । त्यसपछि शुक्रराज शास्त्री भारतका बिभिन्न ठाउँमा प्राध्यापक भएर काम गर्नुभयो । शुक्रराज शास्त्रीको बिवाह वि.सं. १९८७ मा सुब्बा खड्गप्रसादकी छोरी ठूल्नानीसँग भएको थियो तर केही समयपछि नै उनको मृत्यु भएकाले १९९४ मा सुब्बा आदिभक्तकी छोरी यानेकी धर्मभक्तकी बहिनी मेनकादेवीसँग दोस्रो बिवाह भयो । शुक्रराज शास्त्री पक्राउ परेको ४ दिनपछि मेनका देवीबाट एउटी छोरीको जन्म भएको थियो तर केही दिनपछि नै दुबैको मृत्यु भयो ।

१९९५ मंसिर १५ गते ईन्द्रचोकको डवलीमा शास्त्रीले पहिलो भाषण दिनुभएको थियो । उक्त समितिको अन्य सदस्यहरुमा गंगालाल, केदारमान व्यथित, मुरलीधर शर्मा, शंकरप्रसाद शर्मा आदि हुनुहुन्थ्यो । गीताको कर्मयोगको बारेमा प्रवचन दिएको आरोपमा १९९५ मंसिरमा शास्त्रीलाई पक्राउ गरियो । पछि भद्रगोल जेलबाट धन्यवाद दिनुहुने शास्त्रीलाई ३ बर्षको जेल सजाय तोकिए पनि आठ महिना सजाय बाँकी रहँदा नेपाल प्रजापरिषदको गठन रहस्य थाहा पाई त्यसैमा मुछेर शास्त्रीलाई ज्यान सजाय तोकियो । उहाँलाई प्रजापरिषद गठन गरेको भन्दा पनि उदारवादी विचार फैलाएको पहिलो व्यक्ति भनेर ज्यान सजाय तोकेको पाइन्छ । उहाँलाई जुद्ध शमशेरको आदेशमा बहादुर शमशेरको छोरा नरशमशेरद्वारा १९९७ माघ १० गते राती १२ बजे बकाइनाको रुखमा झुन्ड्याइएको थियो ।

माफी माग्नका लागि भन्दा शास्त्रीले गल्ति नगरी किन माफी माग्ने, माफी मागेर अमर रहिँदैन, मर्न त एकदिन सबैको बाटो नै हो जस्ता भनाई राखी गंगालाल र धर्मभक्तसँग आफू मर्न अघि बाग्मतीमा नुहाएर वेदको मन्त्र उच्चारण गरी फाँसीको डोरी आफैंले लगाउने बताउनु भएको थियो । उहाँको अन्तिम शब्द थियो “हे ईश्वर यो अत्याचारी राणा वर्गहरुलाई सद्वुद्धि देउ ॐ तत्सत् । आफ्नो छोरालाई लासको रुपमा देख्दा माधवराजले भनेका थिए “स्यावास छोरा तिमी धन्य छौ, तिमीले आमाबुवाको मात्र होइन देशको गौरव बढाएका छौ, छोरो हुन त यस्तो हुनु ।” नेपाली तथा संस्कृति भाषामा थुप्रै पुस्तकहरु लेख्नुभएका शास्त्री त्यसबेला पनि संस्कृति, नेपाली, नेवारी, हिन्दी, तथा अंग्रेजी भाषामा राम्रो ज्ञान भएका ब्यक्ति हुनुहुन्थ्यो । त्यसैले शास्त्रीलाई शहीद शिरोमणि पनि भनिन्छ । शास्त्रीका प्रमुख कृतिहरुमा संस्कृति प्रदीप, स्वर्गको दरबार, वैदिक सन्ध्या, धर्मोपदेश, नेपालीबर्णमाला आदि पर्दछन् । त्यसो त शुक्रराज शास्त्रिको बारेमा पनि शहीद शुक्रराज, अमर शुक्र जस्ता कृतिले उहाँको जिवनीको बारेमा सम्पूर्ण कुराको जानकारी लिन सकिन्छ । देशले शुक्रराज शास्त्रीको सम्मानस्वरुप शुक्रपथ नामाकरण भएको छ भने शहीद शुक्र माध्यामिक विधालय भेडासिंहमा संचालित छ । यस्तै शास्त्रिका नाममा शुक्र युनेस्को क्लव काठमाडौं, अमर शुक्र पुस्तकालय ललितपुर शुक्रराज शास्त्री आर्य पुस्तकालय आदि सञ्चालित छन् । यस लगायत शास्त्रीको पूर्ण कदको प्रतिमा कुपन्डोलमा शहीद स्मारक समितिको प्रयासमा २०४१ सालमा नै स्थापित भइसकेको छ । यस्तै उहाँको अर्धकदका प्रतिमा पाँगा २०१३ मा, अद्वैतमार्ग २०३३ मा, शहिद गेट २०१८ मा, मूर्तिया २०४४ मा स्थापित छन् । यस्तै उहाँको सम्मान स्वरुप राष्ट्रले २०३२ ज्येष्ठ २९ गते हुलाक टिकट समेत प्रकाशित गराईसकेको छ ।

धर्मभक्त माथेमा
वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन गर्न जाने धार्मिक जनहरुले बाटोमा पर्ने सिफलमा एउटा अधार्मिक र अमानवीय दृश्य देखे । एउटा रुखमा लाश झुन्डिरहेको थियो । खुट्टाले भुई छुन–छुन लागेको थियो । घाँटि छड्के परेको, आँखा आधा खुलेको, मुखबाट रगत बगेको, चिउँडोदेखि गालासम्म काटिएको र त्यहाँ रगतका धर्साहरु परेको त्यो लास सामान्य कुनै विरही व्यक्तिको थिएन, त्यो नेपाल आमाको सपूत अमर शहीद धर्मभक्त माथेमाको थियो । भन्न त राणाहरुले धर्मभक्तलाई फाँसीको सजाय दिएका थिए तर फाँसीको सजाय दिनु अघि नै राणाहरुले कुटेर मारेर उहाँलाई त्यहाँ झुन्ड्याईएको थियो । माघ १३ गते राणाहरुले सिफल जाने बाटोमा पर्ने डिल्लीबजारका पसलहरुलाई आठ बजेसम्म बन्द गर्ने उर्दी गरेका थिए । त्यसै दिन राति १० बजे धर्मभक्तलाई आँखामा पट्टि बाँधी पाता फर्काई ट्रकमा हालेर त्यही बाटो सिफलतिर लगेका थिए । गाडिबाट ओराल्दा ओराल्दै राणा नर शमशेर राणाले तेरो अन्तिम इच्छा के छ भनी सोधेको थियो र धर्मभक्तले–“राणा शासन्को अन्त्य हेर्ने इच्छा छ” भनेर जवाफ दिनुभएको थियो । त्यसपछि हतार–हतार धर्मभक्तलाई घाँटिमा पासो लगाइयो र झुन्ड्याइयो तर झुन्ड्याउनसाथ हाँगा लच्क्यो र खुट्टाले भुई छोयो । त्यसपछि अर्को पटक फेरि उहाँलाई झुन्ड्याइयो तर त्यस पटक पनि डोरी छिन्यो र धर्मभक्त भुईमा पछारिनुभयो । त्यसपटक डोरी नै फुकाल्न नसकेर नर शमशेर राणाले चक्कुले डोरी काट्यो । सामान्यतया प्राणदण्ड दिएको व्यक्ति त्यसरी दुर्घटनावश बचेमा उसलाई कानूनतः अर्को पटक फाँसी दिन नपाइने अन्तराष्ट्रिय चलनलाई सम्झाउँदै धर्मभक्तले –“म हजुरहरुको शारीरिक ब्यायामको गुरु हुँ । दुईपटक फाँसीबाट बचि सकेँ अब फाँसी दिनु न्यायसंगत होइन” भन्नुभयो ।

गुरु जस्ता आदरणीय व्यक्तिको सम्मान गर्न नजानेका राणाहरुको जल्लाद नर शमशेर राणालाई गुरुप्रतिको आदरको के अर्थ ? उसले न्यायको माग गरेकोमा चक्कुले धर्मभक्तको गाला काटिदियो । धर्मभक्तले पनि त्यसको बदला नर शमशेर राणालाई बेतोडको लात हानेर ८÷६ हात पर हुत्याइदिनुभयो । त्यसको बदलास्वरुप जल्लादको नाइके नर शमशेर राणाले सिपाहीहरुलाई धर्मभक्तलाई कुट्ने आदेश दियो र कुटेरै मारिइसकेका धर्मभक्तको धुकधुकी चलिरहेको थाहा पाएर हत्तपत्त जल्लाद राणाले रुखमा लगेर झुन्ड्याएको थियो । यसरी अमर शहीद बन्नुभएका धर्मभक्त माथेमा काठमाडौंको एक सम्पन्न परिवारका व्यक्ति हुनुहुन्थ्यो । सुब्बा आदिभक्त माथेमा तथा चन्द्रकुमारी देवीका सुपुत्र धर्मभक्त माथेमा वि.सं. १९६६ साल असोज ६ गते जन्मनु भएको थियो । उहाँले भारतमा पढेको हुनाले भारतीय स्वतन्त्रता संग्रामबाट प्रभावित हुनुभएको थियो । उहाँको घर ओमबहालमा थियो । प्रजापरिषदको स्थापना गर्न बसेको बैठक उहाँकै घर हो भन्ने पनि भनाई छ । उहाँ शारीरिक सुगठन भएका व्यक्ति हुनुहुन्थ्यो । पहलवान भएकैले उहाँ राजा त्रिभुवनलाई व्यायम सिकाउनु हुन्थ्यो । त्यसैकारण उहाँले सम्पर्क सुत्रको काम पनि गर्नुभएको थियो । उहाँ प्रजापरिषदको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । यसैले १९९७ साल कार्तिकमा उहाँलाई गिरफ्तार गरियो र मुद्दा चलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड सुनाएपछि धर्मभक्तले भन्नुभएको थियो –“यो तुच्छ नश्वर शरीरको आहुती मातृभूमिको बलिवेदिमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्दछु । प्राणदण्ड पाउनु अहोभाग्य”।

दशरथचन्द ठाकुर
नेपालगन्जका तत्कालीन बडाहाकिम शेरबहादुर चन्दका छोरा दशरथचन्द ठकुरीको जन्म वि.सं. १९६० असार १७ गते बैतडीमा भएको थियो । भारतका वनारसमा शिक्षादीक्षा पाउनु भएका दशरथ चन्द भारतमा चलेको स्वतन्त्रता संग्राममा संलग्न हुनुभएको थियो र सोभियत संघको १९१७ को महान अक्टोबर क्रान्तिबाट निक्कै प्रभावित हुनुहुन्थ्यो र्। वि.सं. १९९७ माघ १४ गते राति शहीद बनाइनुभएका दशरथचन्द त्यसबेला नै राजनीतिक सुझबुझ भएका दृढ मनस्थितिका र सबै कार्यकर्ताका अविभावक जस्ता हुनुहुन्थ्यो । त्यसबेला प्रजापरिषदका सचिव रहनुभएका रामहरि शर्मासँग कुरा गर्दै दशरथचन्दले महत्वपूर्ण राजनीति विचार प्रकट गर्नुभएको थियो । रामहरि शर्माले स्मरण गरी लेख्नुभएको दशरथचन्दको विचार यस्तो छ –“राजनीतिक जीवनमा मारपिट तथा दमनको सामना गर्नुपर्ने कुरा अवश्वंभावीक छ । हामीमध्ये केहीलाई त राणाहरुले अवश्य नै मारिदिन्छन् । मारिनेमध्ये म पर्दछु भन्ने निश्चित नै छ । हामीले बराबर मिटिङ् गरेर, मर्नुपरे पनि हाँसी हाँसी मर्नेछौँ भनी प्रतिज्ञा गरेका छौं । तथापि बाँच्नेहरुका लागि कठिन कर्तव्यको बाटो अगाडि छ । प्रजापरिषदको उद्धेश्य राणाहरुलाई हटाउनु मात्र होइन देशमा रहेको सामन्ती व्यवस्थाको उन्मूलन गरी एउटा स्वच्छ प्रजातात्रिन्क समाज खडा गर्नु पनि हो । यसको निमित्त लामो समयसम्मको संर्घषको जरुरत पर्दछ । यस्तो लामो समयसम्मको संर्घष शोषित पीडित र दलित जनताले देशका सबै तहका शोषक सामन्तसँग गर्दछन् । हाम्रो देश त अहिलेसम्म जंगली अवस्थामा छ भने पनि अत्युक्ति हुँदैन । जनजागृति नभई देशका शासक सामन्त ठालु जमिन्दारहरुको उत्पीडनबाट देशवासीलाई मुक्त गर्न सकिँदैन । यसैले यो संघर्ष लामो समयसम्म हुन्छ भनेर भनेको हो ।”

जनताको आर्थिक, शैक्षिकस्तर नउठेसम्म प्रजातान्त्रिक परिपाटीमाथि पनि धनीमानी ठूलाठालु सामन्त वर्गकै आधिपत्य रहन्छ । अलिकति हावा बदलिनासाथ सामन्तहरु कोट टोपी फेरेर प्रजातन्त्रवादी हुन आइपुग्छन् । बहादुर शमशेरले मलाई उसको सामुन्ने लगेर भन्यो–“लौ भन ! हिन्दुस्तानको कुन क्रान्तिकारी दलसँग तेरो साँठगाँठ छ ? मैले भने–“मेरो कसैसँग पनि साँठगाँठ छैन । भारतीय वा अरु कुनै विदेशीसँग सहयोग लिएर काम गर्ने हाम्रो सिद्धान्त होइन । नेपाली जनतामा विश्वास गरेर नेपाली जनताकै सहयोगले क्रान्ति गर्ने हाम्रो लक्ष्य छ ।” क्रान्ति भन्ने शब्द सुन्ना साथ बहादुर शमशेर पागल जस्तो भयो । मलाई बाँसमा झुन्ड्याउने आदेश दियो । “मलाई त यिनीहरुले जिउँदो छाड्दैनन् । तिमीहरुलाई मारेनन् भने पनि सख्त कारावासको सजाय दिन्छन् । बाँचीरहे कारावासबाट छुट्ने सम्भावना हुन्छ । कारावास मुक्त भयौ भने देशलाई गरिवी अशिक्षा र निहीत स्वार्थवालाहरुको हतकडी बेडीबाट मुक्त गराउन इमान्दारीपूर्वक काम गर्दै जाने लक्ष्य तिमीहरुले राख्नुपर्दछ ।”

गंगालाल श्रेष्ठ
नेपाल प्रजापरिषदको नामबाट राणाहरुको दरबार र काठमाडौंका गल्ली– गल्लीमा राणा विरोधी पर्चा छरेपछि वि.सं. १९९७ साल कार्तिक २ गते प्रजापरिषदमा लागेको आरोपमा २२ जना मानिसहरुलाई राणाहरुले पक्राउ गरेका थिए । ती २२ जनामाथि मुद्दा चलाएर चार जनालाई प्राणदण्ड दिइयो । बाँकी अरुलाई जेलको सजाय तोकियो । ती चारजना शहीदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री थिए । ती सबै मध्ये कलिलो युवा गंगालाल श्रेष्ठ नै हो । उहाँको जन्म वि.संं. १९७५ साल फागुपूर्णिमाका दिन रामेछापमा भएको थियो । उहाँ रामेछापका तीनलाल मध्ये एक लाल मानिहुन्थ्यो । वि.सं. १९९५ सालमा दरबार हाईस्कुलबाट प्रथम श्रेणीमा म्याट्रिक पास गरेर सर्वप्रथम वि.सं. १९९४ मा नेपाली नागरिक अधिकार समितिमा उहाँ सक्रिय हुनुभयो । सन् १९९५ मा ईन्द्रचोकमा एउटा जनसभामा गंगालालले सम्बोधन गनुभएको थियो ।

मुद्दा चलाएर मृत्युदण्ड दिने घोषणा गरिसकेपछि पनि शोभाभगवतीमा लगेर मृत्युदण्ड दिन गएको नर शमशेरले “माफी माग अझै समय बाँकी छ” भन्दा –“मैले माफी माग्ने काम गरेको छैन । बरु तिमीहरुले हामीसँग माफी माग्नुपर्छ” भन्नुभएको थियो । १९९७ साल माघ १४ गते राति १० बजे शोभा भगवतीमा लगेर नर शमशेर राणाले गंगालाललाई पहिले घुँडामा, पछि तिघ्रामा र अन्त्यमा कोखमा र छातिमा गोलि हानेर मारेको थियो । नजिकै शहीद दशरथचन्दलाई यसरी नै तड्पाएर मार्दै गरेको देख्दा पनि गंगालाल नडराई नर शमशेरलाई जवाफ दिनुभएको थियो–“ सक्छस् भने तेरो बाउलाई एकै गोलि हानेर मार” जल्लादहरुले उहाँकै घरको बाटो शोभा भगवतीतिर लैजाँदा घर नेर पुगेर गंगालालले आफ्नी पत्नी हसिनालाई हसिना भनेर बोलाउनुभएको थियो ।


जल्लाद टोलीको नेता नर शमशेर राणाले खुट्टा र तिघ्रामा तीन पटक गोलि चलाउँदा उहाँको खुट्टाले छट्पटाएर भुइको वालुवा खोस्रेर चन्द्राकार खाल्डो परेको थियो । उहाँलाई गोलि हान्नुअघि एउटा खम्बामा बाँधिएको थियो र दुईतिरका खम्बामा लगेर हात बाँधिएका थिए । नर शमशेरले भाडामा मान्छे मार्न लगेको पोडेलाई गोलि हानेर मार्न आदेश दिँदा पोडेले रोएर गोलि चलाउन सकेन । त्यसपछि दशरथचन्दलाई गोलि हान्ने पोडेलाई हान भन्यो उसले पनि हानेन र आफैंले दुई गोलि चलायो । कोखा र पेटमा लागेपछि गंगालालले वीरगति प्राप्त गर्नुभयो ।

पछिल्लो समय सहिद दिवस केवल औपचारिकतामा सीमित हुन थालेको छ तर, यस्तो दिवसलाई केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राख्नु बिडम्वना हो । यस्ता अवसरलाई सहिदले देखाएको बाटो र दिशातर्फ इमानदारीका साथ अग्रसर हुने प्रतिबद्धता जनाउने अवसरको रूपमा लिन सक्नुपर्छ । ती महान् आत्माहरूको सपना साकार पार्न इमानदार हुने अठोट गर्न सक्नुपर्छ । यसो हुन सकेमा मात्र सहिद दिवस मनाउनुको सार्थकता र औचित्य रहन्छ । यसो भएको हुनाले प्रमुख राजनैतिक दलहरुले देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि सहिदले देखाएको बाटोमा लाग्न सहिद दिवसले सबैमा प्रेरणा दियोस् भन्ने कामना गर्दछु । देश र जनताका लागि आफ्नो जिवनको आहुती दिने ति तमाम महान सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली ।
(लेखकः नेकपाका केन्द्रीय सदस्य तथा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य–सचिब हुन ।)

प्रतिक्रिया दिनुहोस्