
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन् । उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वो भनिए पनि विभिन्न बहाना केही नेताको लेनदेनमा देशलाई अड्काृन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए ।
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेदशको उद्घाटन कार्यक्रममा उनले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताए । अहिले केही असहमति देखिए पनि यसलाई देश रुपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रुपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोही अनुरुप अघि बढ्नु पर्नेमा जोड दिए ।
अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, संघीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ कि भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उनले जनताको अधिकार संस्थागत गर्ने दिशामा सरकार अघि बढेको बताए ।
गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षता र महासचिव हेमराज शर्माको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, सङ्घका पूर्व अध्यक्षहरु देवमान हिराचन, जिवा लामिछाने, डा शेष घले र भवन भट्ट, सल्लाहकारहरु कुल आचार्य, टिवी कार्की, रामप्रताप थापा, सङ्घका उपाध्यक्षहरु डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, रविना थापालगायतले धारणा राखेका थिए ।





