वाग्मती प्रदेशसभा बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने



काठमाडौं । वाग्मती प्रदेशसभाको सातौं अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएका प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको सभिवालयका सचिव खड्काले जानकारी दिएका छन् । प्रदेशसभाको सातौं अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्