भोली काठमाडौंमा एक लाख मान्छे उतार्ने प्रचण्ड-नेपालको दाबी



काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा विशाल सभा गर्ने दाबी गरेको छ ।

सभामा कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए ।

हामीले धेरै टाढाबाट जनतालाई बोलाएका छैनौं । धादिङ, नुवाकोट र काभ्रेपलाञ्चोक आसपासकालाई मात्रै बोलाएका छौं, उनले भने प्रतिगमनविरुद्ध मानिसहरु आक्रोशित छन् । त्यसैले उनीहरु आन्दोलनका लागि उत्साही देखिएका छन् ।

उनले शुक्रबारका आन्दोलन परीक्षा भएको समेत बताए । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले ८/९ ठाउँबाट जुलुसहरु आउने र त्यसपछि आमसभा हुने बताए ।

प्रदर्शन र सभाबारे सम्पूर्ण जानकारी आज दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा दिइने समेत उनले बताए । सबै ठाउँबाट जम्मा भएको जुलुस रत्नपार्कमा पुगेर आमसभामा परिणत हुने र सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्