सर्लाहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते



काठमाडौं । सर्लाही हरिवन नगरपालिका वडा नम्बर ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ ।

एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।

दाङबाट झापाको काँकडभित्ताका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुबहाक
बस आज बिहान सर्लाहीमा सडकबाट तल खरेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले दिएको जानकारीअनुसार दुर्घटनामा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै गम्भीर घाइते रहेकी राप्ति गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकरी दिए ।

दुर्घटनामा चालकसहित १७ जना घाइते छन् । गम्भीर घाइते भएका पाँच जनालार्ई वीरगञ्जस्थित अस्पताल र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । दुर्घटनाको कारण खुलेको छैन । सडकबाट बस तल खसेको छ, उनले भने । बसमा ३० जना यात्रु थिए ।

प्रतिक्रिया दिनुहोस्