
काठमाडौं । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय बैठक बोलाएको छ । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।
प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँचजना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
प्रचण्ड माधव समूहका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गरे ।
बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।





