नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता



काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुब्रह्मण्यम् जयशङ्करबीच हैदरावाद हाउसमा शुक्रबार बिहान भेटवार्ता भएको छ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवद्र्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

आजै दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा आयोगको बैठक सोही भवनमा हुँदैछ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्