‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे’ : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् ।

आज पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोलेका देउवाले भने, ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे । ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन् । चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ ।’

प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरेका छन् । तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ ।

‘हामीलाई विश्वास छ अदालतले विवेक प्रयोग गर्नेछ । अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन । हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन,’ उनले भने ।

‘सरकार जनताको सेवक हो मालिक होइन । जनताप्रति सरकार उत्तरदायी हुनुपर्ने हो तर भएन,’ उनले भने । न्यायपालिकालाई दवाव वा प्रभाव पर्ने गरी राष्ट्रपति, प्रधानमन्त्री या कुनै पनि दलका नेताले बोल्न नमिल्ने देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्