कोरोना उत्पत्तीबारे अनुसन्धान गर्न वुहान पुग्यो डब्लुएचओको टोली



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ । कोरोना भाइरस महामारीको उत्पत्तीबारे अनुसन्धान गर्न डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले जनाएको छ । लामो समयदेखि डब्लुएचओ र बेइजिङबिचको वार्तापछि अनुसन्धानकर्ताको टोली चीन पुगेको हो ।

१० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिनेछन् । सिजिटिएनका अनुसार उक्त टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भेयतनामका विज्ञहरू सहभागी छन् ।

कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको थियो । अहिले भने वुहान सहर सामान्य अवस्थामा फर्किसकेको छ । अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्नेछन् ।

यसअघि चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै प्रवेशमा रोक लगाएको थियो । चीनका लागि उडिसकेका दुई जना सदस्यहरूमध्ये एक जना फर्किएका थिए । अर्का भने ट्रान्जिटमै अड्किएका थिए ।

बेइजिङले यस घटनालाई गलत प्रभाव भएको बताएको थियो । बेइजिङले कोरोनाको महामारी चीनबाट सुरू नभएको जनाउँदै आएको छ । डब्लुएचओका प्रोफेसर डेल फिसरले यो अध्ययन कुनै राजनीति वा आरोप लगाउन नभई वैज्ञानिक प्रश्नको गहिराइमा पुग्न भएको बताए । सो भाइरसलाई कतिपय वैज्ञानिकहरूले प्राकृतिक घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्