केपी ओलीबाट लोकतन्त्र नै खतरामा पर्यो : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन् । काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीबाट संविधान र लोकतन्त्र धरापमा परेको बताएका हुन् ।

‘ओलीले पहिला पनि भन्नुहुन्थ्यो, मैले छोड्नुपर्‍यो भने कुर्सी नै भाँचेर छोड्छु । हामीलाई कुर्सी मात्र भाँच्नुभयो भने त अर्को बनाउँला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘तर, उहाँले त संविधान नै भाँच्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँच्ने छाँट आयो । अब कसरी सहने ?

बहुमत नभएका बेला आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको उल्लेख गर्दै उनले केपी ओलीले जनतामाथि घात गरेको बताए । उनले नेता माधव कुमार नेपाल, झलनाथ खनालले समेत बहुमत नरहेपछि सजिलै राजीनामा दिएको तर अहिले ओलीले सत्ताका लागि जनतामाथि घात गरेको बताए ।

फरक प्रसंगमा उनले केहीदिनअघि भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्ता पनि नाटक भएको ठोकुवा गरे। ‘अस्ति जी न्युजलाई ओली दिएको अन्तर्वार्ता नाटक हो । नाटक भएको भन्ने कुरा आज प्रमाणित भइसक्यो ।

प्रतिक्रिया दिनुहोस्