संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधानको‘इन्ट्री’



काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास नै गठन गरेका छन् ।

उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधानलाई राखेका छन् । न्यायाधीश प्रधान संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् ।

संवैधानिक इजलासमा अन्य न्यायाधीश भने यथावत छन् । यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए । त्यसपछि अघिल्लोपटकको सुनुवाइमा कार्की आफैंले आफू इजलासमा नबस्ने घोषणा गरेका थिए ।

तर प्रधानन्यायाधीश जबराले स्वार्थ बाझिने गरी नै पूर्वसभासदसमेत रहेकी प्रधानलाई इजलासमा राख्नुले निष्पक्ष फैसला आउनेमा शंका व्यक्त भएको छ । संवैधानिक इजलास गठन गर्दा प्रधानन्यायाधीश कार्कीले वरिष्ठलाई पाखा लगाएर कनिष्ठ न्यायाधीशलाई छानेकोमा पनि आलोचना हुँदै आएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्णइजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । तर त्यसलाई पनि प्रधानन्यायाधीश जबराले अस्वीकार गरेर संवैधानिक इजलास नै गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्