‘सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ’ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाएका छन् ।

उनले पोखरामा मंगलबार आयोजित भेलामा केही महिनाभित्र आफूहरू विजयी हुने पनि दाबी गरेका छन् । ‘केही महिनाभित्रै हामी विजयी हुन्छौं । केपी गुटको पतन अनिवार्य छ । ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौं । मैले केपी ओलीलाई नै भनेको छु- तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो ।’

उनले सडकमा उत्रँदा फेरि एकपटक विद्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन् । ‘फेरि विद्रोह गरेको अनुभूति भएको छ । सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ । निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो,’ उनले भने ।

उनले पार्टी एकता भनेर मात्रै पनि नहुने बताएका छन् । पार्टीभित्रका गलत प्रवृत्तिविरूद्ध लडाइँ र आलोचना गर्न नसकेमा सोभियत संघजस्तो हुने पनि प्रचण्डको भनाइ थियो ।

नेता तथा कार्यकर्ताहरू केही महिना खटेर काम गर्ने हो भने केपी ओली गुटको पतन हुने उनले दाबी गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्री ओलीले गरेको व्यवहारप्रति भर्त्सना र घृणा गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्