रूसका लागि पूर्वराजदूत बर्नसलाई बाइडेनले बनाउने भए गुप्तचर प्रमुख



काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले चर्चित कूटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन्।

केन्द्रीय गुप्तचर निकाय (सिआइए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको बाइडेनले सोमबार घोषणा गरेका छन्।

सरकारी कर्मचारीका रूपमा झण्डै ३३ वर्ष सेवा गरेका बर्नस अहिले ६४ वर्षका भए । यसअघि उनी रूस र जोर्डनका लागि राजदूतसमेत थिए ।

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुबै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् ।

उनलाई अमेरिकी सरकारी सेवा र कूटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छ।

उनी सन् २०१७ देखि एक वर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए । तर ट्रम्पको कूटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोडेका थिए ।

‘दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कूटनीतिज्ञ भएका छन्, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उनको विश्वस्तरीय ज्ञान र क्षमता छ,’ बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रूपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरु ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ ।

बर्नसले अक्स्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्