एलपिएलको पाँचौँ संस्करणको तयारी तीव्र



आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका ग्रुप हुने भएको छ । धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका गु्रपसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ ।

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो । आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका गु्रपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् । देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए ।

विगतका वर्षभन्दा पुरस्कार राशि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले रु दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५० हजार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्