डा.राजन भट्टराईद्धारा कपन राममन्दिर खानेपानी आयोजनाको उद्घाटन



प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले कपन राममन्दिर खानेपानीको आयोजनाको डिप बोरिङमा बिजुलीको स्वीच अन गरी उद्घाटन गरेका छन् ।

खानेपानी उद्घाटन समारोहपछि कपन राममन्दिर खानेपानी उपभोक्ता समितिको सातौँ बार्षिक सभालाई सम्बोधन गर्दै मेलम्ची खानेपानी परियोजना आउनुअघि तत्कालको स्थानीय आवश्यकता पुर्याउन यस किसिमका परियोजनाले सहयोग पुर्याएको बताए ।

कपन राममन्दिर खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष तथा बूढानीलकण्ठ नगरपालिका वडा न. ११ का वडाध्यक्ष राजु अधिकारीले सभालाई सम्बोधन गर्दै भने, २७ जना घरधुरीबाट जनही १५ हजार उठाएर २०६९ सालमा स्थापना गरिएको समितिले हाल ४ सय घरधुरीलाई खानेपानी उपलब्ध गराएको जानकारी दिए । यसैगरी वर्तमान उपराष्ट्रपति नन्द किशोर पुन (पासाङ)ले ५ लाख सहयोग गरेर सुरु भएको आयोजनालाई अहिलेपनि ३ लाख सहयोग गरेर वडावासीलाई पानी खाने पिउन सहयोग गरेकोमा धन्यवाद दिए ।

कपन राममन्दिर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिठाराम अधिकारीले राममन्दिर खानेपानी उपभोक्ता समितिले अथक प्रयास गरी वडावासीलाई खानेपानी व्यवस्था गर्न प्रत्यन गरिरहेको बताउँदै काम गर्दा लागेको ऋणको कारण समस्या भएकाले परियोजना मार्फत सहयोग गरिदिनु हुन प्रमुख अतिथिलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष उषा अधिकारीले संस्थाको आयव्यय प्रस्तुत गरेकी थिइन् । बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राई, नेकपा केन्द्रीय सदस्य तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी, सचिव प्रदिप डंगोल लगायत समाजसेवी बुद्धिजीवी र उपभोक्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्