प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन



प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो ।

प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा उपत्यका पृतना तेस्रो भएका छन् । यस्तै खेल प्रदर्शनका आधारमा जगदल गण पहिलो, दुर्गा बक्स गण दोस्रो तथा ज्वाला दल गण तेस्रो भएका छन् ।

सुटिङअन्तर्गत मिक्स पेस्तोलतर्फ शुक्रबार सम्पन्न फाइनल खेलमा १६ नम्बर बाहिनी अड्डाको जगदल गण पहिलो भयो । जगदल गणका गनर दीपक ओड र राधिका घर्ती ६५६ अङ्क प्राप्त गर्दै प्रथम भए। सोही स्पर्धामा उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का र ज्वाला दल गणकी सिपाही विमला भण्डारी दोस्रो तथा १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणका अमलदार कृष्ण शाही र सोही गणकी गनर दिलकुमारी रम्जाली तृतीय भए । खड्का र भण्डारीले कूल ६३२ तथा शाही र रम्जालीले कूल ६२७ अङ्क प्राप्त गरेको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र, जङ्गी अड्डाले जनाएको छ ।

यस्तै शुक्रबारै सम्पन्न मिक्स राइफलतर्फ १६ नम्बर बाहिनी अड्डाको जगदल गणका प्यूठ पूर्णकुमार श्रेष्ठ र सोही गणकी प्यूठ खेमा शाही पहिलो भए । श्रेष्ठ र शाहीले कूल ७२६ अङ्क प्राप्त गरे । सो स्पर्धामा उपत्यका पृतनाको दी फेमस महेन्द्र दल गणका सिपाही मनोज बस्नेत र दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी कूल ७१४ अङ्कका साथ दोस्रो तथा १५ नम्बर बाहिनी अड्डाको गणेश दल गणका सिपाही टङ्कप्रसाद जैसी र सिग्नल तालीम शिक्षालयकी हवल्दार दीपा बूढामगर कूल ७०७ अङ्कका साथ तेस्रो भए ।

यसैगरी सुटिङअन्तर्गत पुरुष पेस्तोलतर्फ उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का ३१८ अङ्क प्राप्त गर्दै पहिलो, १६ नम्बर बाहिनी अड्डाको जगदल गणका गनर दीपक ओड ३२१ अङ्कका साथ दोस्रो तथा मध्य पृतनाको चन्दनाथ गणका प्यूठ सुशान्त राई ३२० अङ्कका साथ तेस्रो भए । महिला पेस्तोलतर्फ १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणकी गनर दिलकुमारी रम्जाली ३४३ अङ्कका साथ पहिलो, १६ नम्बर बाहिनी अड्डाको जगदल गणकी गनर राधिका घर्ती ३३५ अङ्कसहित दोस्रो तथा पूर्वी पृतनाको पशुपतिप्रसाद गणकी सिपाही अञ्जु विक ३१८ अङ्क प्राप्त गर्दै तेस्रो भए ।

यस्तै शुक्रबारै सम्पन्न पुरुष राइफलतर्फ उत्तर पश्चिम पृतनाको ज्वाला दल गणका प्यूठ नारायणसिंह दोङ ३९१ अङ्क प्राप्त गर्दै पहिलो, १५ नम्बर बाहिनी अड्डाको गणेश दल गणका सिपाही टङ्कप्रसाद जैशी ३७३ अङ्कका साथ दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाको जगदल गणका प्यूठ पूर्णकुमार श्रेष्ठ ३५८ अङ्क प्राप्त गर्दै तेस्रो भए । महिला राइफलतर्फ उपत्यका पृतनाको दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी ३७३ अङ्कका साथ पहिलो, मध्य पृतनाको सिद्धिबक्स गणकी सिपाही राधा गुरुङ ३६९ अङ्क प्राप्त गर्दै दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाको जगदल गणकी प्यूठ खेमा शाही ३६८ अङ्कका साथ तेस्रो भए ।

यसैगरी हालसम्मको खेल प्रदर्शनका आधारमा पुरुषतर्फ उत्तर पश्चिम पृतनाको ज्वाला दल गणका प्यूठ नारायणसिंह दोङ ३९१ अङ्कका साथ तथा महिलातर्फ उपत्यका पृतनाको दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी ३७३ अङ्क प्राप्त गर्दै उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै फुटबलमा राजदल गणले सिद्धिदल गणलाई ३–१ गोलले, सिंहनाथ गणले दुर्गा बक्स गणलाई २–० गोलले, जगदल गणले कालीसिद्धि गणलाई २–१ गोलले तथा पश्चिम पृतनाको इएमई गणले युद्धकवाज गणलाई ४–१ गोलले पराजित गरेको छ । यसैगरी बास्केटबलतर्फ उपत्यका पृतनाले १५ नम्बर बाहिनीलाई ६२–३६ अङ्कले, विषेश फौज बाहिनीले १७ नम्बर बाहिनीलाई ६८–४१ अङ्कका साथ तथा मध्य पृतनाले पश्चिम पृतनालाई ७४–४७ अङ्कले पराजित गरेको छ । शुक्रबारै भएको भलिबल खेलमा १३ नम्बर बाहिनीले १६ नम्बर बाहिनीलाई ३–२ सेटले तथा उपत्यका पृतनाले १४ नम्बर बाहिनीलाई ३–० सेटले पराजित गरेको जङ्गी अड्डाले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सञ्चालन भएको हो । सो प्रतियोगिता आगामी माघ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता रहेको छ । सेनाले विसं २०६५ देखि प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्