
काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । तर सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्यो भने संविधान नै कागजको खोस्टामा परिणत हुने उनको चेतावनी छ ।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधिसभा विघटन गर्ने कदम चालिएको बताए । ‘तत्कालको प्रतिगामी कदम मात्र होइन, समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने शंका पैदा भएको छ,’ उनले भने ।
राजनीतिक स्थिरता कायम गर्न संसद भंग गर्न नदिने भनेर राष्ट्रिय राजनीतिक सहमतिका साथ संविधान बनेको र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको उनले बताए । धारा ७६ मा दिइएको कुनै पनि विकल्पबाट पनि सरकार बन्नै सकेन भने मात्र संसद विघटन हुने संविधानले परिकल्पना गरेको भन्दै उनले यो अधिकार नभई दायित्व भएको बताए ।





