‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ’ : वामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुअघि आफूलाई जानकारी नदिएको बताएका छन् ।

राष्ट्रिय सभामा बिहीबार बोल्दै उनले आफू प्रधानमन्त्री ओलीको कटु आलोचक रहेको पनि बताए ।

‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएका हुन् । उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो । उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु,’ उनले भने, ‘एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला । कठिन परिस्थितिमा एक ठाउँमा छौं । तर प्रतिनिधि सभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन ।’

प्रधानमन्त्री ओलीले आफूलाई बर्खास्त गर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने भनेको उल्लेख गर्दै गौतमले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो । अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ । त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें । मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्