प्रतिनिधि सभा पुनःस्थापना नभए देश अस्थिरताको दुस्चक्रममा फस्छ : घनश्याम भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाइ गरिरहेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए ।

‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ,’ प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा गरेको अन्तरक्रियामा नेता भुसालले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय संविधानको बर्खिलाप छ, लोकतन्त्र, वामपन्थ, समाजवादविरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो तर अदालतमा किन ढिलाइ हुँदैछ ?’

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका आन्दोलनका उपलब्धी रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको भन्दै नेता भुसालले प्रतिनिधि सभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने बताए ।

नाकाबन्दीमा ओलीले लिएको अडान र अरु सन्दर्भ गाँसेर संसद विघटनलाई पनि ठीक हो भन्ने पुष्टि गर्ने कोसिस भएको भन्दै भुसालले मिडिया, नागरिक समाज र बुद्धिजिवीले यसलाई चिर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्