योगेश भट्टराईले भने : केपी ओली सन्तुलनमा त हुनुहुन्छ ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमबार चितवनको भरतपुरमा आयोजित अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीबाट अशिष्टता प्रदर्शन हुन थालेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अशिष्टता, गालीगलौज र अमानवीयता सिकाइरहेको उनको आरोप छ । ‘केपी ओली होसमा त हुनुहुन्छ ? सन्तुलनमा त हुनुहुन्छ ? मैले प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनुभयो भनेर भनेको छैन । मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन । तर हिजो (आइतबार) उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो ।’ उनले भने ।

यसअघि आइतबार काठमाडौंको बबरमहलमा आयोजित एक कार्यक्रममा प्रधानन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै ‘तपाईंहरू सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन, अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन ।’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्