
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताएका हुन् ।
उनले भने– ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो की असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो की अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो ।
तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनुपर्ने पनि नेता थापाले बताए ।





