दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने प्रयास भयो : केपी ओली



काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको दावी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको आरोप समेत लगाए ।

उनले प्रचण्ड-माधव पक्ष लाइन लागेर अदालत, निर्वाचन आयोग र सडकमा गएको पनि बताए । ‘सडकमा जानु भएको छ । सत्तोसराप गरेर जनताको मन दुखाउनुभएको छ । कम्युनिष्ट आन्दोलनको हुर्मत लिने, अग्रगमनका बाटाहरु कमजोर पार्ने प्रयास बन्द गर्नुस्,’ओलीले आग्रह गरे ।

उनले आफ्नो पार्टी वैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी वैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौँ । हामी वैधानिक नै छौँ भने किन दरखास्त हाल्न जान्छौँ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौँ ? अदालत, निर्वाचन आयोग ?’ प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव पक्ष गणतन्त्र र लोकतन्त्रका विरुद्ध लागेको आरोप लगाउँदै आफै पार्टी फुट्यो भनेर हिँडेको पनि बताए ।

प्रधानमन्त्री ओलीले यस्ता झड्काहरुले कम्युनिष्ट आन्दोलनलाई थप प्रभावकारी बनाउने र संगठित र गतिशिल पार्टी बनाउने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्