
पौष १५ अर्थात बुढापाकाहरुले भन्ने गर्दछन्, पुष फासफुस भन्ने उखान चरितार्थ भएसँगै आजकल राजनैतिक माहोल ह्वात्तै बढेतापनि मानिसहरु भने विशेषगरी पुष महिनामा आफ्नो कुल पूजामा तल्लीन देखिन्छन् । हो, ठ्याक्कै यस्तै रौनक धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित गंगाजमुना गाउँपालिका अन्तर्गत रहेको सादीक गुम्दी गाविस, साल्दुममा सिम्खडा समुदायको पनि छ । अधिराज्यभरिबाट सिम्खडा समुदायहरु एकीकृत भएर आफ्नो समुदायको कुल पूजामा बच्चादेखि बुढासम्म, (बालादेखि वुद्धसम्म) आफ्नो कुल पूजामा तल्लीन देखिन्छन् ।
खासगरी आफ्ना पितृ र कुल देवताहरुलाई खुसी पार्न विगत र वर्तमानमा गरेका कमीकमजोरीहरुलाई क्षमा, याचना गर्दै आगामी दिनमा सुख शान्ति र समृद्धि हओस्, कुनै खालको दुःख कष्टहरु झेल्नु नपरोस् भन्ने मान्यताका साथ मानिसहरु कुल पूजा गर्दछन् ।
श्री सिम्खडा सेवा समिति एवम् कुल पूजा समितिले आयोजना गर्दै आएको पूजा हरेक २ बर्षमा हुने गर्छ । पौष १५ मा भएको कुल पूजापछि १९ गते वायुपूजा समेत हुने भनिएको छ ।
काठमाँडौमा बसेको सेवा समितिको र पूजास्थलमा पौष–३ गतेको बसेको बैठकको निर्णय भए बमोज़िम पूजाको दिन खाजा तथा खानाको समेत व्यवस्था गरिएको थियो । धादिङको साल्दुममा रहेको पुरानो मन्दिरमा हुदैँ आएको कुल पूजा यसबर्ष भने नवनिर्मित मन्दिरमा सम्पन्न भएको छ ।
उक्त कुल पूजामा सिम्खडा समुदायका अधिकांश मानिसको उपस्थिति रहेको हुन्छ । यसका साथै यस कुल पूजाको विशेषता भनेको यहाँ १–२ जनाको मात्र नभएर धेरै पुजारीहरु उपस्थित रहेका हुन्छन्, जसले सामुहिक रुपमा पूजा गर्ने गर्छन् । यस कुल पूजामा धादिङ र काठमाडौँका मात्र नभएर नेपाल अधिराज्यभरिका सिम्खडा समुदायका मानिसहरुले सहभागी जनाउने गरेका छन् ।
सिम्खडा समुदायका मानिसले नाचगान सहित निकै भव्यरुपमा यस कुल पूजा मनाउँदै आएका छन् ।






