प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।

महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। यद्यपि दाहाल-नेपाल समूहमा २० जना प्रदेश सभा सदस्यहरूको समर्थन रहेको बताइएको छ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्