हरिशरण ढुङ्गानाको ‘मानसोच्छलन’ कविता सङ्ग्रह बजारमा



काठमाडौं । हरिशरण ढुङ्गाना द्वारा लिखित‘ मानसोच्छलन’ कविता बजारमा आएको छ । बुधबार सुन्दरीमाई जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा गोकर्ण स्थित शान्ति तथा सहिद स्मृतिपार्कमा पुस्तक विमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालले पुस्तकको विमोचन गर्दै आफूले पनि जेसीजबाटै समाजमा नेतृत्वदायी भूमिका खेल्न सक्षम भएको खुलासा गर्दै कृतिकार हरिशरण ढुङ्गानाको कवितासङ्ग्रह विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको र यसले युवापिँढीलाई सिर्जनशील कार्य गर्न प्रेरणा प्रदान गर्ने अभिव्यक्ति दिईन ।

त्यस्तै, साहित्यकार डा। लेखप्रसाद निरौलाले कृतिमा लामा छोटा र हाइकुसमेत समेटएकाले पाठकलाई रसास्वादन गर्न उपयोगी भएको समीक्षात्मक टिप्पणी गरेका थिए भने अभिनव साहित्य समाजका अध्यक्ष तथा साहित्यकार गोविन्द घिमिर ‘वेदमणि’ ले अत्यन्त सरलदेखि जटिल विषय समेटिएको ‘मानसोच्छलन’ वास्तवमै शीर्षकले सङ्केत गरेझैँ मनका तरङ्गहरू उठान गर्न सफल रहेको चर्चा गरे ।

बुढानीलकण्ठ स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले शिक्षक तथा स्रष्टाका यस्ता महनीय कार्यले बालबालिकालाई पनि सिर्जनशील कार्य गर्न सद्प्रेरणा मिल्ने र विद्यार्थीहरूले पनि आफ्नो अध्ययनका अलावा रचनात्मक कार्यका लागि कलम चलाउनुपर्ने धारणा राखे । कविता सङ्ग्रहमा समसामयीक विषयसंग जोडिएका ५४ वटा कविता समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्