लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ



काठमाडौं । लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो । किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात मनोज फरार थिए ।

उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो । ‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो ।

यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गतेदेखि किसानहरू फेरि आन्दोलनमा उत्रिएका थिए ।सरकारसँग ४ बुँदै सहमति भएसँगै पुस १३ गते उनीहरूले आन्दोलन स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्