ल्होछारले गुरुङ समुदायको संस्कृति संरक्षण र सम्बद्धन गर्दै अघि बढ्न प्रेरणा दिन्छ : प्रधानमन्त्री अ‍ोली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्बद्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको बताएका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताउँदै उनले भनेका छन्, “एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, वेशभूषा बहुमूल्य पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ ।

उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताएका छन् ।

लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं, उनले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्