ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर आफ्नै राजनीतिक जीवन धरापमा पारे : वर्षमान पुन



रोल्पा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको टिप्पणी गरे ।

ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नतर्सने बताए ।

नेता पुनले ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विगत स्मरण गर्न पनि सुझाव दिए । ‘शेरबहादुर देउवाले ०५९ सालमा निर्वाचन घोषणा गर्नुभयो, संसद विघटन गर्नुभयो । संसद दरबारमा बुझाएर आफैं जेल परेपछि गल्ती भयो भनेर आफैं आन्दोलनमा आउने अवस्था बन्यो ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर मुलुकको अभिभावकत्व गुमाएको पनि उनले टिप्पणी गरे । ‘राष्ट्रपतिले प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिनुभयो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्