आ–आफ्नै मौलिक पहिचानसहितका ल्होछार मनाउन उपराष्ट्रपति पुनको आग्रह



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तमू (गुरुङ) समुदायको महान् चाड तमू ल्होछार/ल्होसार–२०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा पुनले भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो । अनेकौं संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर, सप्तरंगी सम्मिश्रण एवं साझा संगमको रुपमा रहीआएको नेपाल सामाजिक सद्भाव र सौहार्दताका लागि संसारभर सुपरिचित छ ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचानसहितका भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व छन् । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडपर्वहरु नेपालीको साझा चाडपर्व हुन् ।’

पुराना वर्ग (वर्ष)को विदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले मनाउने तमू ल्होछार/ल्होसार पनि फराकिलो हुँदै आमनेपालीको पर्वको रुपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्