
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएका छन् ।
पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल(नेपाल समूहले देशव्यापी प्रदर्शन गरेका छन् ।
यहीक्रममा राजधानीमा भएको विरोध प्रदर्शनमा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको लोकतन्त्रप्रतिको निष्ठा र राजनीतिक चरित्रमाथि प्रश्न उठाएका हुन् ।
वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन्, त्यसपछि पत्तासाफ : प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई जना व्यक्तिले प्रतिनिधि सभा भंग गर्न नमिल्ने बताएका छन् । ‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन् । त्यसपछि पत्तासाप,’ भृकुटीमण्डपमा आज आयोजित विरोध सभामा प्रचण्डले भने, ‘आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ ?’
उनले कम्युनिष्ट पार्टी फुटिसकेको पनि बताएका छन् । संविधान बचायो भने दुई वर्षपछि चुनाव हुने पनि उनले बताए । अहिले चुनाव भए जितिहालिन्छ भनेर मख्ख नपर्न पनि उनले अन्य पार्टीका नेतालाई आग्रह गरेका छन् ।
चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’ छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।
प्रधानमन्त्री ज्यू अझै पनि मौका छ चाँडै सच्चिनुस् : माधव नेपाल

माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् ।
ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’
पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं ।
अध्यक्ष नेपालको ओलीमाथि थप प्रहार थियो, ‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ? हाम्रो आन्दोलनको चाहना अनुरुप छ ? जुनसुकै कोणबाट हेर्दा पनि त्यो निर्णय अनुपयुक्त छ ।’
ओलीलाई झलनाथ खनालको प्रश्न : प्रधानमन्त्री ज्यू खोइ त घरघरमा ग्यास पाइप ?

वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।
‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज रु खोइ घरघरमा ग्यास पाइप ?’ उनले अघि भने ।
काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए ।





