नेकपाको दाहाल-नेपाल समूह उत्रिए सडक संघर्षमा, सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएका छन् ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै छ ।

यद्यपि काठमाडौंमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठको संयोजकत्वमा बनेको दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समितिले मुलुकभरको प्रदर्शनको संयोजन गरेको छ । दाहाल-नेपाल समूहले काठमाडौँ उपत्यकामा मात्रै ५० हजार कार्यकर्ता उतार्ने तयारी स्वरूप टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस केन्द्रीय नेताहरूकै नेतृत्वमा जुलुस निकाल्दै छ।

ती क्षेत्रको जुलुसको संयोजन स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले गरेका छन् ।

सो समूहले विरोध सभाका लागि भन्दै सडकको बीच भागमा नै मञ्च बनाएपछि बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्