
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष दाहाल प्रचण्डले सर्वोच्च अदालतले असंवैधानिक तवरबाट विघटित प्रतिनिधिसभा तत्काल सुचार गर्ने आदेश दिने विश्वास व्यक्त गरेका छन् । जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतबाट आफूहरुको पक्षमा आदेश दिने विश्वास व्यक्त गरेका हुन् ।
मलाई विश्वास छ, अदालतले संसद सुचारु गर्न आदेश दिनेछ, उनले भने यति सामान्य कुरा अदालतले बुझ्दैन भने अदालतको सम्मानप्रति अपमान हुन्छ ।
उनले संसद विघटन नभएको बरु केपी ओली नेतृत्वको सरकार विघटित भएको दाबी गरे । संविधानले यति सजिलै संसद विघटन गर्ने परिकल्पना नगरेको उनको भनाइ छ । सदन मरेको छैन, सदन जीवित छ, उनले भने विघटित भएको ओली सरकार हो ।
प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनामाथि निर्मम र क्रुर ढङ्गले प्रहार गरेको प्रचण्डको दाबी छ। ‘नेपाली जनताको बलिदानी र सङ्घर्षबाट प्राप्त भएको सार्वभौम अधिकारमाथि प्रहार भएको छ,’ उनले भने,‘पौने तीन करोड जनताको भावनामाथि निर्मम ढङ्गले प्रहार भएको छ।’





