
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको स्वविवेकीय निर्णय मान्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको मुद्दा अदालतमा रहेकोले अदालतको निर्णय पर्खने देउवाले बताए ।
‘अदालतमा विचराधीन मुद्दामा यो गर ऊ गर भनेर हाम्रो पार्टीले भन्दैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा देउवाले भने, ‘ओलीको कदम असंवैधानिक छ। लोकतन्त्रविपरीत छ।’
उनले कांग्रेसले अदालतको निर्णय मान्ने पनि बताएका छन् । ‘हाम्रो पार्टी अदालतको सम्मान गर्ने पार्टी हो । कानुन मान्ने पार्टी हो,’ उनले भने, ‘विरोध प्रदर्शन गरिरहन्छौं । अदालतको निर्णय पनि पर्खंन्छौं ।’
उनले भविष्यमा प्रदर्शनलगायत अन्य कार्यक्रम पनि गर्न पर्ने भएकोले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘हाम्रो पार्टीले अदालतलाई तर्साएर, धम्क्याएर निर्णय गर् भनेको छैन । पञ्चायतमा पनि हामीले अदालतबाट न्याय पाएको थियो । अदालत स्वतन्त्र छ,’ उनले भने ।
उनले कांग्रेसको इच्छाअनुसार वा फरक हुने गरी अदालतबाट आदेश आए पनि स्वीकार गरिने बताएका छन् ।





