
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सोमबार आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो ।
गत मंगलबार जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रर्दशनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असंवैधानिक रुपमा संसद विघटन गरिएकाले पुनस्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर काँग्रेस १६५ वटा निर्वाचन क्षेत्रका मतदात माझ पुग्न लागेको हो । साथै संसद पुनस्र्थापना नहुँदा पनि आजको प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियान पनि बन्ने छ ।
किनभने प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ ।
आजको प्रदर्शनलाई काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ । त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ । यद्यपि डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति शेरबहादुर देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।





