बहुल राष्ट्रिय मञ्चद्वारा प्रधानमन्त्री ओलीलाई सत्ता सुम्पन आग्रह, तत्काल चुनावी सरकार गठनको माग



काठमाडौं । बहुल राष्ट्रिय मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गर्नका लागि तत्काल सत्ता सुम्पन माग गरेको छ । मञ्चले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रलाई सुव्यवस्थित बनाउन मध्यावधी चुनावी सरकार गठनको मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेको छ ।

बहुल राष्ट्रिय मञ्चका अध्यक्ष राम मगरले बहुमतको सरकार असफल भइसकेकाले चुनावका लागि नयाँ सरकार गठन अनिवार्य भएको बताए । उनले देश अभिभावक बिहिन भएको समेत आरोप लगाए । अब चुनाव गर्नका लागि प्रधानमन्त्री ओलीले सत्ता सुम्पनुपर्ने बताए । मगरले आफूहरुलाई सत्ता सुम्पिएमा चुनाव निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित तरिकाले गरेर देखाइदिने दाबी गरे । मगरले भने, ‘जनतालाई निश्पक्ष रुपले न्याय दिनेछौ ।

कार्यक्रममा मञ्चका सदस्य सचीव तेन्धङ मिभक लिम्बुले दुईतिहाइको सरकार असफल प्रमाणित भएको बताए । सरकारले तत्काल सत्ता नसुम्पिए उखेलेर फाल्ने चेतावनी दिए । उनले भने, ‘केही दिनमा नै सिंहदरबार ओखलेर फाल्ने छौ ।’ एकात्मक राज्यसत्ताले निर्माण गरेको जातिय बर्गिय क्षेत्रीय लैगिक तथा धार्मिक रुपमा बिभेदपुर्ण व्यबस्थाले गर्दा नै देशको शासन व्यबस्था चल्न नसकेको लिम्बुले जिकिर गरे ।

बहुल राष्ट्रिय मञ्चका नेता राजेश बटालाले कुर्सिका कारण आज देश खाल्डोमा पुगेको बताए । ‘अब देश रहला नरहला भन्ने स्थिति आएको छ,’ उनले भने । उनले अहिलेको सरकारबाट चुनाव हुन नसक्ने ठोकुवा गरे । चुनावका नाममा आफ्ना नातागोता र पद कुर्सी सुरक्षित गर्न खोजेको आरोप लगाए । राष्ट्रलाई निकास दिने हो भने बहुल राष्ट्रिय मञचलाई सत्ता सुम्पिनु पर्ने उनको भनाई थियो ।

मञ्चका अर्का नेता रामबाद लिम्बूले देश खतराको दिशा तिर जाँदै गरेको बताए । उनले सबै जातजातीको सम्मेलन गरेर देशलाई निकासको बाटो तिर लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्