‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे’ : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको बताएका छन् ।

चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए ।

‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन । विभिन्न निकायमा उनले खल्तीबाट मानिस राखेका छन्,’ काठमाडौंमा आज जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले भने, ‘चुनाव घोषणाको नाटक गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्ने ? यस्तो गर्न प्रधानमन्त्रीले मिल्छ ?’

‘म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो । मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ, रेकर्डमा हेर्नुस् । यो नैतिकताले मिल्दैन,’ भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले सडकबाट टिपेर मन्त्रीहरू बनाइरहेको भन्दै भट्टराईले विरोध गरेका छन् । ‘सडकबाट टिपेर मन्त्री बनाउने ? प्रधानमन्त्री ओलीमा कति दम्भ छ भन्ने यसबाट देखिन्छ,’ उनले भने ।

उनले दुई वर्ष बाँकी हुँदा अहिले किन चुनाव गर्ने भन्ने पनि प्रश्न गरेका छन् ।

‘दुई वर्ष बाँकी छँदै अहिले चुनाव गर्ने बेला हो ? कोरोना महामारी छ,’ उनले भने ।

संसदमा बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनले बताएका छन् । ओली पहिलेदेखि नै गणतन्त्र, संघीयताविरोधी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्